काठमाडौं फोटोग्राफर एसोसिएसन (केपीए) ले आगामी पुस १२ र १३ गते आयोजना गर्न लागेको केपीए वेडिङ फोटो अवार्ड २०२४ नेपाली विवाह फोटोग्राफी क्षेत्रको एक ऐतिहासिक र महत्त्वपूर्ण कार्यक्रम हो। नेपाली संस्कृति र विवाह परम्परालाई फोटोग्राफीमार्फत उजागर गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमले नेपालभरका फोटोग्राफरहरूको प्रतिभा प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ। फोटोग्राफीको मुख्य विधा अन्तर्गत प्रत्येक सहभागीले विवाह सम्बन्धी अधिकतम दुईवटा तस्बिर पठाउन सक्छन्। सहायक विधा अन्तर्गत प्रि/पोस्ट कपल फोटोका लागि दुईवटा आफुले खिचेको तस्बिर पठाउन सकिनेछ भने विवाह भिडियो टिजरका लागि १ मिनेट ३० सेकेन्डको, २०० एमबी भन्दा कम साइजको MP4 फर्म्याटमा तयार गरिएको एउटा भिडियो मात्र पठाउन सकिन्छ। भिडियो Google Drive मा अपलोड गरी लिंक, आफ्नो नाम, इमेल, सम्पर्क विवरण, र स्वतन्त्र फोटोग्राफरहरूले शुल्क तिरेको रसिदसहित kpaweddingphotoaward@gmail.com मा इमेल गर्नुपर्नेछ।
यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले Google Form मार्फत आवेदन दिन सक्नुहुन्छ।
मुख्य विधा: विवाह फोटोग्राफी र सहायक विधा: प्रि/पोस्ट वेडिङ कपल फोटो मा सहभागी हुन Google Form भर्नुहोस्।
Apply from here
फोटोग्राफरहरूले आफ्नो काम पेश गर्नु अघि KPA Award Rules ध्यानपूर्वक अध्ययन गर्नुपर्नेछ, जुन Google Form भित्र उपलब्ध छ। फोटो र भिडियो पठाउने अन्तिम मिति ३० मंसिर २०८१ (१५ डिसेम्बर २०२४) सम्म रहेको छ।
यो ऐतिहासिक कार्यक्रम दुई भागमा विभाजित छ। पहिलो दिन, पुस १२ गते (२७ डिसेम्बर २०२४), राष्ट्रिय नाचघर, जमलमा एवार्ड वितरण समारोह हुनेछ। दोस्रो दिन, पुस १३ गते (२८ डिसेम्बर २०२४), राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनीको आयोजना गरिनेछ। कार्यक्रम संयोजक आनन्दप्रभाकर घिमिरेको नेतृत्वमा सम्पन्न हुने यस कार्यक्रमले उत्कृष्ट फोटोग्राफरहरूलाई सम्मानित गर्ने, सांस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुतिहरूको मज्जा दिने, र फोटोग्राफीसम्बन्धी स्टलहरू प्रदर्शन गर्नेछ। कार्यक्रमको प्रत्यक्ष प्रसारण राष्ट्रिय टेलिभिजनबाट हुनेछ।
केपीए वेडिङ फोटो अवार्ड २०२४ ले नेपाली फोटोग्राफरहरूको सिर्जनशीलता, निपुणता, र दक्षतालाई प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने प्रयास गर्नेछ। साथै, यसले नेपाली विवाह परम्पराको सौन्दर्यलाई उजागर गर्दै फोटोग्राफी क्षेत्रको विकासमा योगदान पुर्याउनेछ। यो सुनौलो अवसर गुमाउन नहोस्! आफ्नो प्रतिभा प्रस्तुत गर्दै नेपाली फोटोग्राफीको क्षेत्रमा नयाँ उचाइ हासिल गर्न यो विशेष कार्यक्रममा सहभागी बन्न सबैलाई हार्दिक निमन्त्रणा।